के मान्छे यात्रा विहीन हुन सक्छ? -
अवश्य सक्छ
यदि उ भीडमा हराएको छ भने
अभाव भन्ने बित्तिकै हामी भौतिक अभाव मान्छौँ
तर भौतिक छेलोखेलोभित्र प्रशस्त अभाव हुन सक्छ
सब भन्दा ठूलो अभाव हो
वाच्ने रहरको अभाव
यस्तो अभाव भित्र उ भीडमा हराउँदछ
यसरी अनि उ यात्रा विहीन हुन पुग्छ
यात्रा हुनु र नहुनुको बीचमा
अन्तर हुन सक्छ
तर त्यो निर्णायक होइन
यात्रा हुँदा सगरमाथा चढिने
नहुँदा पातालमा झर्ने पनि होइन
यात्राप्रतिको दृष्टिकोण के?
के आफ्नो अहम्पनको तुष्टि हो?
या त्यसलाइ वचाउने संघर्ष हो?
हो, मान्छेको संघर्ष
उसको अहम्लाई वचाउनका लागि हो
उसको अहम् छैन
उ रहन सक्तैन
किनकि दैनिक सपना देख्न पाउनु पर्दछ उसले
अनि मात्र उसको अहम् वाँच्न सक्छ
मूलत: अहम्लाई नहुर्काएर
उ बाँच्नै सक्तैन
सपना देख्नु राम्रो कुरा हो
चाहे त्यो दिउँसो देखिएको सपना किन नहोस्
अनि आफूले भोग्नु परेको कुरा
उसको नियति किन नवनोस्
नियति वलियो हुन्छ
सबल या दुर्बल दुवैका लागि
त्यसैले यस प्रति विश्वास गर्नु या नगर्नु
दुवै चुनौती हुन्
जसरी यसमा विश्वास गर्नेले प्रशस्त दिएका छन्
त्यसैगरी नर्गेहरूले पनि
वैचारिक श्रीवृद्धि गरेका छन्
तपाइ विश्वास नगर्न सक्नुहुन्छ
एउटा युद्ध लड्नका लागि
विश्वास गर्न सक्नु हुन्छ
आर्को युद्ध लड्नको लागि
जे होस्, एउटा परिवर्तनको लागि
त्यसैले युद्ध आवश्यक मात्र होइन अनिवार्य छ
परिवर्तन के का लागि?
सुन्दर विहानीका लागि
या डर लाग्दो रातका लागि? -
यो प्रश्न अझै अनुत्तरित छ
परिवर्तन आफैमा संवाहक हुन सक्तैन
एउटा सपनाको प्रतिबिम्ब मात्र हुन सक्छ
सपना जति सुन्दर हुन सक्छ
त्यसको प्रतिबिम्ब उत्तिकै खतरनाक पनि हुन सक्छ
किनकि मान्छे र सपना बीचको अन्तरबाट
यदि प्रतिबिम्ब निस्केको छ भने
त्यो सपनाको ठानिए पनि रिक्तताको हुन सक्छ
त्यसैले नियतीलाई जति म स्वीकार्छु
त्यति नै बीचको रिक्तताबाट म झस्किन्छु
त्यसैले म थाकेको छु
भीडमा हराएको छु
अनि यात्रा विहीन हुन पुगेको छु
म जस्तो लाखौं लाख मान्छे
आज यहाँ यात्रा विहीन भएका छन्
विस्थापित भएका छन्
पौरख विहीन भएका छन्
आफ्नै मुलुकमा शरणार्थी भएका छन्
अनि त्यस्तै केही भाडाका टट्टु भएका छन्
केही यन्त्रवश नेता प्रनेताको झोला बोक्ने रोबट भएका छन्
त्यो भन्दा माथिका झोले र वैठके भएका छन्
अझ त्यो भन्दा माथिका
ठर्राबाट जोनिवाकरमा पुगेका छन्
र, यस क्रमबाट बनेको एउटा नेतृत्व पंक्ति
अनि नेताहरू
दौरा शुरुवाल र कोटले
डरलाग्दो मुटुलाई छोपेर
सुरसाको जस्तो ठूलो हुँदै गएको मुखले
विपना जति भ्याए सम्म निलेर
सपना बाँड्दाको तालीको गडगडाहटमा
विकाशको एकोहोरो शङ्ख फुकेको सुन्दा
अनि त्यो शङ्खध्वनि भित्रको डरलाग्दो सन्नाटा
एउटा उकुस-मुकुस भएर फैलिँदै गएको देख्दा
लाग्छ, यहाँ कसैको मृत्यु भएको छ
कविता-७४ बैशाख, जेठ, असार, साउन २०५८
This poem has not been translated into any other language yet.
I would like to translate this poem