सङ्क्रान्ति Poem by Basanta Lohani

सङ्क्रान्ति

समय
एउटा प्रवाह
न आदि न अन्त्य
अविभाजित
अपराजित
असीमित
त्यो निरन्तरता

म बाचेको समय
हिजो बुबाले औला समातेर
हिडाएको समय
त्यो भन्दा, अझ त्यो भन्दा अगाडि
यस प्रबाहमा चोपलिएका
मान्छेहरुको कल्पना
मुटु र गिधीको संयोजनले
खण्डै खण्डको पत्रहरुमा
बेरिएको त्यो समय
दिन, रात
महिना, वर्ष बनेर
वर्षौ वर्षौ पछि
मलाइ छुन आएको छ

म यस्को तालसुरमा
आफ्नो भाखा खोजिरहेको छु
पछि मेरो गीतले
केहीवेर मलाइ खोज्ने छ
म हराएको प्रवाह
अलिक पर पुगेपछि
त्यो पनि रोकिने छ

यस्तै प्रवाह-स्थिति
मेरो बुबा बाट म
र, म बाट मेरो पुत्रमा
सर्दै जाने स्थिति
प्रत्येक महिनाको पहिलो दिन
यस्तै क्रान्ति बृत्तमा
घुमिरहेको त्यो दिन
त्यो सड्क्रान्तिमा
मेरी सहयात्री
नारायणको पूजा गर्छिन्
पुर्खाको त्यो निरन्तरता राख्न
जहा म रहिरहने छैन
एउटा आर्को गमन
सुरु भइसक्ने छ

चैत्र २, २०६२
सानो भर्यानङ

COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Close
Error Success