बेरोजगार युवाको आइडेन्टिटी कार्ड Poem by Rajendra Bhandari

बेरोजगार युवाको आइडेन्टिटी कार्ड

नाउँ : धनबहादुर ।
बाबुको नाउँ : रनबहादुर
आमाको नाउँ : बिर्खमाया
ठेगाना : जहाँबाट काञ्चनजङ्घा देखिन्छ ।
अलिकती हिँडे कछार भेटिन्छ ।
जहाँ खोलाहरु लोकगीत गाउँछन ।
जहाँ मान्छे शोकगीत गुन्गुनाउँछन् ।
डाक संपर्क : कुनै पनि अलैंचीबारी, धानबारी, चियाबारी ।
गौचर, नागी, बाँसघारी ।
उमेर : पाखुरामा आगो बगेजति ।
आँखामा सपना फुलेजति ।
इ : यहाँ टाँस्नुपर्छ पासपोर्ट साइजको फोटो ।
फोटो यस्तो होस्-
दुइवटा कान देखिएकै हुनुपर्छ ।
एउटा बजारको भाषाण सुन्नलाई ।
अर्को घरको कचकच सुन्नलाई ।

खुट्टा निस्किनुहुँदैन
किनभने तिमीले पुग्नु कतै छैन ।

छातीचाहिँ देखिएको हुनुपर्छ पेट काटिएको ।
छाती भएको पेट नभएको तिम्रो फोटोलाई ।
सत्यापित गर्नुपर्छ कुनै छाती नभएको
पेट मात्र भएको गजेटेड अफिसरले ।

बस तिम्रो आइडेन्टिटी कार्ड तयार ।
त्यो बोकेर
तिमी निर्धक्क जतासुकै हिँड्नसक्छौ
सियाचिनदेखी कन्याकुमारीसम्म
छम्बलदेखी डिमापुग्सम्म
मन सिउरिने काँटि खोज्दै हिँड कि
पेट सुधार्ने थाल खोज्दै हिँड़ ।

COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Close
Error Success