एउटा सहरको रोजनाम्चा Poem by Rajendra Bhandari

एउटा सहरको रोजनाम्चा

मोबाइल टावरमास्तिरबाट
एउटा चतुर घाम हाम्फाल्छ सहरमा ।
खबरकागजमा हेडलाइनहरु लटरम्म झुल्छन ।
कविहरु साइँसुत्त हराउँछन् ।

ठुल्ठुला कार्यालयका चेपचापमा
सानासाना मान्छेहरु लुक्छन् ।
पैतालामुनि को कती टेकिँदैछन्
जुत्ताहरुलाई थाहै हुँदैन ।

जुताहरुको गोप्य साँठगाँठ
दुरुह सही र घुमाउरा बाटाहरुसित हुन्छ
चश्माहरु टाइलाई स्वस्ति गर्छन
कलमहरु नाच्दै आएर बादलको मसीले आकाशमा नोटिङ लेख्छन् ।
र धरतीको पेपरवेटले थिच्छन् ।

फलामलाई फलामले
बोलीलाइ बोलीले
कलमलाई कलमले काट्छ भन्ने लोकविश्वासमा
बुढापाकाहरु ढुक्कले निदाउँछन् ।
सिलिङ फ्यानबाट पनि सत्ताको तातो हावा खस्छ ।
सत्ताको घामले बाहिर झन् पोल्छ ।
र पोलेकाहरु सियाँल खोज्दै बिल्डिङका छायामुनि सुस्ताउँछन ।

जता पानी जम्छ
जम्मै भ्यागुता उतै पस्छन् र टर्टराउँछन ।
पस्न नपाउनेहरु छट्पटिँदै मर्छन ।
जता चर्को बाजा बज्छ
खुट्टाहरु त्यसैमा नाच्छन् ।
नाच्न नजान्नेहरु पिँजराको सुगालाई भविष्य सोध्नपुग्छन् ।

महँगा गाड़ी
र किफायती तरुणीहरुको बिगबिगी भएको त्यस सहरमा
चर्को अर्केष्ट्रामा थिचिएर
सारङ्गीहरु रुन्छन्
एकलास चोकहरु सुन्छन् ।

एउटा एश्वर्य
चिडियाखानाको सिँहझंै सुतेको देखिन्छ ।
अर्को पीड़ा
डुलुवा कुकुरझंै गल्ली-गल्ली डुलेको भेटिन्छ ।

कवि कम तर कविताहरु धेरै
खबर कम तर पत्रकारहरु धेरै भएको
त्यस सहरमा
सुख सधैँ आतङ्क छ ।
दुःख सधैँ लठेप्रो छ ।

COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Close
Error Success