कस्ले भन्छ जुन वाटोमा म छु
त्यो कही पुग्दैन
जुन यात्रामा म छु
त्यो कहिले टुङ्गिन्न
घात-प्रतिघातको खेलमा
म सिङ्गो खेल हु
अनि सिङ्गो खेलाडी पनि
यस्मा रमेर चिप्लेटी खेल्दा
आफू जति रोमान्चित भएको छु
त्यति नै अरुलाइ रोमान्च वाढ्न पनि पाएको छु
सपनाको परीको स्पर्शको लागि जस्तो
लालयीत भएका कतारलाइ
बार्दलीमा वसेर हेर्दाको आनन्द
इतिहासमा कतिले पाएका छन् र?
म नाटक हु
अनि नाटककार पनि
म पात्र बानउन सक्छु
पात्रलाइ बोलाउन सक्छु
जङ्गाउन सक्छु
हसाउन सक्छु
रुवाउन सक्छु
तर नायक म नै हु
नाटकको आत्मा नै म हु
त्यसैले म द्वन्द पनि हु
यो मेरो कम्पोजिसन हो
गीतको बोल पनि मेरो नै हो
साजले त्यो नोटेसनमा मात्र वज्नु पर्दछ
गायक बन्नेले त्यो लयमा रियाज गर्न सक्नु पर्दछ
यसरी गुन्जिएको गीत
अनि यसको प्रतिध्वनिले
यो देशमा मात्र होइन
अन्तरिक्षमा समेत शान्ति ल्याउने छ
मान्छेले मात्र होइन
वृक्षले पनि शान्तिको सास फेर्ने पउने छ
सबैलाई समेट्ने मेरो क्यान्भास
म भन्छु, धरती जत्ति कै फराकिलो छ
लोभलाग्दो बिहानीको चित्र कोर्दा
बुरुस दरो पार्नु पर्ने हुन्छ
त्यसैले कही गहिरो हुन सक्छ
अनि रातो मसी
कही लतपतिन पनि जान्छ
अजको कला बुझ्न
पर्खिनु पर्दछ
घोरिनु पर्दछ
शान्त हुनु पर्दछ
अनि देखिन्छ रङ भरिदै गएको
त्यो दिव्य लालिमाको
जस्को चित्र म कोर्दै छु
केवल मात्र म
नव जागरणको युगमा
ब्यक्ति नै प्रधान हुन्छ
अनि त वैयक्तिकत सेरोफेरोवाट
असीम चेतना निस्सृत हुन सक्छ
त्यो घनिभूत डरलाग्दो उज्यालोमा
अर्जुनको आँखाले हेर्न सक्नु पर्दछ
त्यहा म मात्र देखिने छु
केवल म
बाकी सब निमित्त मात्र हुन्
त्यसैले गीत एउटौ मात्र छ
बोल एउटा मात्र छ
सपना एउटै मात्र छ
बिपना एउटै मात्र छ
धरती एउटै मात्र छ
आकाश एउटै मात्र छ
यो देश एउटै मात्र छ
म पनि एउटै मात्र छु
त्यसैले बुझ, मेरो चाहना पनि एउटै मात्र छ
इन्द्रलाइ पनि पाठ गर्नु परेको थियो
चेतनाको पुञ्ज उषाको सोह्रै चरण
चेताना बढोस् भनेर होइन
अरुको चेतना नबठोस् भनेर
तर चेतना बढ्न थाले पछि
उषालाइ नै कुरुप बनाइदिइ उनले
हो, उषा अनवरत जागरणको असंख्य बिहानी हो
आफ्नो सुन्दर वक्ष उघारेर पुर्वाहुति भएकी उषालाइ
इन्द्रले पनि यसरी लखेट्न पर्यो
चढेको रथ बीचवाट चिरिदिए
असल र खराब मान्छेको विभाजन गरेर
लखेटिदै गएकी उषालाइ
भौतारिदै गरेका शिद्धार्थले देखे
अङ्कमाल गरे
बल्ल उनी बुद्ध बने
त्यसैले अरु धेरैलाइ बुद्ध बनाउनु छ अहिले
बुद्ध बनेपछि नै बुद्धु बन्छ
बुद्धु नै बुद्ध हुन्छ
अनि मात्र मुलुकामा शान्ति हुन्छ
त्यसैले कस्ले भन्छ जुन बाटोमा म छु
त्यो कही पुग्दैन
अन्त्यहीन बाटोको साथ
तर भोलिको आश होइन भनेर
कस्ले भन्छ एक चरण त्रासको कविता हु म
भोलिको बिहानी होइन भनेर
मलाइ थाह छ
सिकन्दरसम्मलाई गाली गर्ने कवि
यो मुलुकले धेरै पहिले जन्माइसकेको छ
तर पारीको चेतना
वारी कथ्न सक्ने कवि
म मात्र हु
किनकी म नै चैतन्य हु
स्वनाम धन्य हु
बिहान १० बजे बुधबार
साउन ५, २०६२
सानो भर्याङ
काठमाण्डौ
This poem has not been translated into any other language yet.
I would like to translate this poem