एउटा सून्य मात्र Poem by Basanta Lohani

एउटा सून्य मात्र

विद्धानहरुको बस्तीमा
एउटा पागल हराएको छ
जोसँग विद्धता छैन
तर यथार्थता छ
एउटा यथार्थता जुन सत्य हुन्छ
विद्धतामय ज्ञानको ज्योति नभएर
एउटा यथार्थता जसमा माया हुन्छ
तार्किक श्रृखलाको शिषर नभएर
एउटा यथार्थता जसमा माटो वोल्छ
विरोधाभाषको वोली नभएर
त्यसैले त्यो एउटा पागल हराएको सत्य भएको छ
त्यो विद्धानहरुको वस्तीमा
जहाँ विद्धताको ज्योतिले
अंहकारको दृष्टिले
लोभको लप्काले
अस्मिता जलिरहेको छ
त्यसैले त्यो पागल
अझै कराइ रहेको छ
हराएको ध्वनि लिएर भएपनि
ती विद्धानहरुको वस्तीमा
जहाँ उनीहरु आल्हादित छन्
एउटा वेइमानीको
कहिले नटुङ्गने श्रृखला बोकेर
यसरी विद्धानहरुको वस्तीमा बाचेको पागल
अस्तित्व नभएको एउटा सून्य हो
तर अचम्म छ
विद्धताको वाफ भित्र
अनि वढ्दै गएको रवाफ भित्र
तिनीहरु झस्किन्छन्
जब पागल खिसिक्क हाँस्छ
किनकी उ हाँस्दा लाग्छ
शिष्य वटुलेर सिकाउँदा - सिकाउँदा
निराश भएर
त्यो वोधिवृक्ष मुनि
सुतेको एउटा वुद्धले
मुक्ति प्राप्त गरेको छ
जहाँ विद्धता छैन
अहम् छैन
सब पग्लिएर हराएका छन्
अनि वाँकी छ
एउटा सून्य मात्र
गरिमा कार्तिक २०५७ अङ्क

COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Close
Error Success