मस्तिष्क र हृदय
अंग्रेजीमा हेड एण्ड हार्ट
देवकोटा भन्छन् 'गिदी र मुटु'
एउटा संयोजनमा जन्मेको मान्छे
अनि उसको समाजले दिएको
परिस्थितिले सिकाएको
औसरले सिर्जेको
सूचना, वुद्धि र ज्ञान
प्रेम र घृणा,
आक्रोस र छटपटीबाट
विभक्त भएर
समयको प्रत्येक सेकेन्डसँग
बदलिएको त्यो संयोजन
घामको किरणजस्तो असीमित
एउटै संयोजन विखण्डित भएर
प्रभावित हुँदा
पानीको मुस्लो बनेर दगुरेको
नदीको प्रवाहले खोजेको यात्रा
त्यो भन्दा बुझ्न नसकिने गरी
कहिले उत्तरी ध्रुवमा जस्तो
कठाङ्ग्रिएको हृदय जम्न सक्छ
ढुकढुक चल्ने
एउटा यन्त्र मात्र बनेर
थिचिएको मान्छे
बाध्यताले कठाङ्ग्रिदा
उ जस्तै आर्को मान्छेको लागि
बन्न लागेको महलको
एउटा इँट बनेको हुन्छ
यसरी बनेको पिरामिडको अट्टालिकामा
त्यहाँ बसेर तल हेर्ने
मान्छेको लौकिक उज्यालोमा
नदेखिने भएको उसको
अस्थीपञ्जर स्वरूपमा पनि
एउटा हृदय र मस्तिष्क संयोजित छ
त्यसैले घामका रापहरू
जब धरतीको बीचमा सीधा पर्दछन्
माटो धपक्क वल्छ
त्यस्तो राप भन्दा वढी
पाखण्डताको रापले
मस्तिष्कमा फिलिङ्गो वन्छ
जङ्गलमा लागेको आगो जस्तो
हुरहहुर्ती फैलिन सक्छ
त्यति बेला उ पागल बनेर
सिकन्दरलाई गाली गरिरहेको हुन्छ
तिमी त्यो गर्न सक्दैनौ
किनकि तिमी महान् छौ
त्यसैले पागल बन्न सक्दैनौ
पागल देवकोटा बन्न सक्छन्
उनी हृदयबाट वोल्छन्
हृदयबाट सुन्छन्
अनि हृदयबाट दोहोरो संवाद गर्दछन्
यसो गर्दा जब मस्तिष्क रिसाउँछ
उनी पागल बन्छन्
अनि पो त उनको गणितमा
एकबाट एक झिक्दा पनि
एक नै बाँकी रहन्छ
तर तिम्रोमा शून्य
किनकि तिमी शून्य छौ
यति ठूलो शून्य कि
त्यस भित्र तिमीले
आफूलाई
महान् देखेका छौ
धरहरामा उभिएको तिमी
अनि त देख्छौ
सहिद गेटका ती मूर्तिहरू
कमिलाजस्ता साना
काठमाडौँको वढ्दो ट्राफिक
दायाँवायाँ घुमाउने ढुङ्गाजस्ता
तर देवकोटा ढुङ्गाको कठोरतामा
सपना समात्न खोज्छन्
त्यसैले उनी पागल बन्न सक्छन्
जब तिमी महान् बनेका हुन्छौ
मधुपर्क, फागुन २०५८ अङ्क
This poem has not been translated into any other language yet.
I would like to translate this poem