प्रेम आब्हान र स्मृति
अगणित संम्झनाहरुले
रुवाईदिन्छकतिबेला
जब वर्षौं पहिले भेटिएकाहरु
गुमनाम हुन्छन् यादको अदालतमा
ठ्याक्कै उसैबेला
अत्याउने गरी आइदिन्छ
चार निमेषका लागि भेटिएका
पात्रहरूको याद
समयको नियम मिथ्या लाग्ने गरेर।
प्रिय पात्र
यो ठिक उहि समय हो
र
म तिमीलाई नमज्जाले
संम्झना गरिरहेको छु।
संम्झनुको विकल्प पनि छैन र
बिर्सनुपर्ने खास कारण पनि
खास बाडुल्कीको नियम
लागु हुन्छ भने
तिमी नरोकिएरै
हिकहिक गर्दै हुनुपर्छ यतिबेला
मलाई त सम्झियौ पनि कसरी भनौँ र
त्यो युग देखि यो युग सम्ममा
मलाई झुक्किएर पनि बाडुल्की लागेको छैन।
लोभ नगरी पठाइदेउ
अलिकति संझना यता पनि
ताकिमलाई हिक्हिकाउन पुगोस्
रुमानी बेगमा
संम्झनाका लहरहरु सँगै
समय, मान्छे र मान्छे भित्रको मन बिचको
बिचित्रको लडाइँ चल्दैछ
एकांकीको रंगमञ्चमा
र म गरिरहेछु अभिनय
नअलमलिएरै
तिम्रो फुर्सद मिल्यो भने
आउनु तिमी पनि
जो मेरो लागि राहत बन्नेछ।
प्रिय पात्र,
तिमीलाई याद गरेपछि
मात्रै हेक्का आयो आज
वर्षौँ भएछ
मैले धरातललाई याद नगरेको
त्यो पारिको क्षितिज त
बिरानो छ उसै पनि
आकाश त्यसैपनि टाढा भाग्छ
म बाट छुइने डर बोकेर
मैले धरातललाई बिर्सेको दिन पछि
आजसम्मआफ्नो धरातल बिर्सेको छैन
क्षितिजलाई पनि उसैदिन भुलिदिएँ
जुन दिन टुट्यो भ्रम उसको काँध
आकाश पुग्ने अन्तिम बिन्दु हो भन्ने
तर
तिमीलाई म केवल
पुजाको लागि याद गर्नेछु
जीवनको त्यो चार निमेष
कसैको जीवन बन्छ भनेर
कुन मनले कल्पिन्छौ र तिमी
तिम्रो कल्पना भन्दा पर, त्यो पुग्न नसकिने आकाश
भन्दा पनि बिशाल
अश्वमेध यज्ञ जो बनाएर गयौ मनको मन्दिर भित्र
भलै अबिर यात्रा गर्ने ढोंगीहरुको कमि थियो
तिमी पत्याउछौ?
मैले बाँचेको युग भरि पछ्याएका सबैलाई
नछोएरै पछ्याएँ आजसम्म
तिमीलाई गल्तीले छुन पाँए
यति मिठो गल्ती कि
जसलाई म हज्जार पटक दोहोर्याउन चाहन्छु
बिना कुनै गुनासो बिना कुनै पश्चाताप!
तिनका सग्लो अनुसार मात्रै
आउँछन् याद बनेर
तर तिम्रो
बास्ना देखि बेगरका सबै सबै याद बनेर आउँछन्
जसले अत्याउन सम्म अत्याउँछ।
होमलाईउचाई सँग प्रेम छ र त
आकाशलाई प्रेम गर्छु
उसले आजसम्म म सँग भेट्छु भनेर
कसम पनि खाएको छैन
प्रेमालाप पनि गरेको छैन
उ यति ज्याद्रो छ कि
चुपचाप नियाल्छ मेरो छट्पटी
सायद उसको त्यहि ज्याद्रोपनले
मलाई ज्याद्रो बनाएको हुनुपर्छ
यो चुपचाप सताउने उसको बानीको
आदत बनेको छ मलाई
ठ्याक्कै उस्तै रमाउँछु म
तिम्रो मौनता सँग अचेल
हृदयको स्पन्दन बाटै दिनु तिमी
मैले सोधेका हज्जार प्रश्नहरुको उत्तर।
याद गर्नु तिमी
यो बयान नभएर प्रश्न हो
आदेश नभएर आब्हान हो
कहिले मिल्छ तिम्रो एक टुक्रा समय? ?
बन्द गरेर कर्ण हृदयले सुन्नेछु तिमीलाई
मलाई भरपुर बाँच्नुछ त्यहि समयमा
यहि काललाई साक्षी राखेर।
This poem has not been translated into any other language yet.
I would like to translate this poem