केही हराएका, केही पर्खिरहेका Poem by Suchana Ghimire

केही हराएका, केही पर्खिरहेका

उज्यालो हराएको अौँसीको जुन जस्तो
मलिन गाउँको त्यो सेरोफेरो
मणि हराएको सर्प जस्तो‍ छट्पटिदै
पर्खिरहेछन् वृद्ध नजरहरु
आफ्नै छाती चुसाएर हुर्काएका
सुगन्धको खोजीमा हराएका छन्
एक हुल कस्तुरीहरु।
दलिनमा जमेको कालो ध्वाँसो उस्तै छ
आहाराको पर्खाइमा
आँखा तन्काइरहेछ माउसुली
हावाको झोक्कासँग तर्सिदै
धिप धिपे टुकि बल्छ हरेक साँझ
तेल रितिएको टुकि जस्तो जिन्दगी भएका
चिन्ताका बादलले अध्याँरा भएका छन्
एक थान मनहरु।
दैलोमाथि गौँथलीको गुडँ उस्तै छ
घरपछाडिको खट्प्वाल रित्तो छ
न भँगेरा छन् न परेवा छन्
भत्किनै लागेका रित्ता गुँडहरु
हराउदै गएका कर्याङकुरुङ जस्तै हराएका
गुँड छाडेर नफर्किने गरि उडेका छन्
एक बथान बचेराहरु।
देउरालीमा वरपिपलको छाँया उस्तै छ
सिरसिर हावा कलकल बगि रहेको कुलो उस्तै छ
तर चौतारीमा सुस्ताउने भरिला आँत छैनन्
बूढो वरपिपल मुनि छन् त सुकेर झरेका पात
अनुभवका तह तहले चाउरिएका
जीन्दगीको वसन्त काटेर फुलिसकेका छन्
एक जोडी नजरहरु।
अनगिन्ती पदचापले बनाएको गोरेटो उस्तै छ
अझैपनि बन्छन् मेटिन्छन्
जीन्दगीको भारी बोक्दा बोक्दै थकित
अनि बर्खा भरि गडगडाएर हिउँदमा सुस्ताएका खहरे जस्ता रित्ता जोस छन्।
कहाँ गए,
किन मेटिए कलिला मुना जस्ता?
कता पुगेर किन मोडिए हुर्किदै गरेका?
एक हुल पदचापहरु ।
मुना जति टिप्दा टिप्दा
बूढो बोट मात्रै बाँकी भएको चियाको बोट जस्तो
हरियाली उस्तै छ
जरा उस्तै छ
पात उस्तै छ
तर हराएका छन्
कतै टाढा तातो पानीमा पिल्सिदै मगमगाउदै छन्
एक बगान मुनाहरु।
आफ्नो पोल्टोबाट
हराएको रौनक, हराएको उत्साह,
हराएका जीवनलाई पर्खिरहेको छ त्यो गाउँ।
मोहनी मन्त्रले एकोहोरिएर उज्यालो तिर तानिएका ती जुनकीरीहरु,
खोला बनेर बगिरहेछन् खै कुन्नी कुन सागरमा मिल्न,
आफ्नो थलो छाडेर।
कटेरोको किलामा बाँधिएर कुँडे कुरिरहेका वस्तु,
घान लगाउने हातहरु ढुकिरहेको ढिकि,
थकान बिर्साउने सुस्केराहरु पर्खिरहेको हरियाली,
चन्चल जोसिला पाइलाको स्वाद बिर्सि सकेको सुनसान आँगन,
आफ्नो सेेेरोफेरोमा र कण कणमा छरिएर पर्खिरहेछ
ति आफ्नाहरु
ति हराएकाहरु!

COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Close
Error Success