म त ढोंगी Poem by Ujjwal Raj Ghimire

म त ढोंगी

कायाको दासी, मायापुरी निबासी
करममा फसेको, भरममा बसेको
मतिको छ मेरो गति
वनस्पति बिनासी, सृष्टि मासी,
ज्ञानपत्रमा प्रकृति गाँसी
स्वाट्ट सरक्क....
मुसुक्क हाँसी,
बन्नु छ जुन एक्दिन
त्यसैलाई फोक्साले उकासि
भुत भबिस्य बर्तमान क्षणमै बाँचि
मनका लहरा मनमै भाँची
सातौं आसमान पलमै भोगी
म त झल्लु गँजडी लतको रोगी
तिमी सन्त गुरु म त ढोंगी।

म त्यहि तिर्थको डिलमा
महादेव भएको फिलमा
दृष्टिका मापकहरु यसो दौडाउँछु
लाग्छ तिमी बट्टाई हौ
अनि चील म।

त्यहिं तल्तिर चिर्पट चिता बन्दै थियो
ठिट्लाग्दो रोदनमा कोहि
चिरनिन्द्रामा सुतेको हाडमासलाई
पिता भन्दै थियो
म पनि भोली यसै खसी गएँ भने
सास छोडी, आश तोडि
लटकी गएं भने
तिमी मेरी टुहुरी आमैका अगाडी
कठै नभन्दिनु
त्यो मासुको ढाँचा भित्रको जीव
त्यो फलानाको कुलको दिप
साँच्चै यो निर्जन सामाजमा
यी बासनाका मुर्तिहरुका माझमा
अझै सम्म जिउँदै रहेछ मान्दिनु।

तिमी त ज्ञानि छौ जान्न पर्ने हो
नजानेनी आस्तिक छौ मान्न पर्ने हो।
तर तिमी मानी रहेकै छैनौ।
मान्देउ न सरकार तिम्रो के जान्छ?
भले मानेमै तिम्रो जीवन जान्छ
मान्देउ न यार तिम्रो के जान्छ?

मै खसे त बेसै भो
एउटा पथभ्रष्ट हारी गयो
हजारौं मृत्यु पलमै टारी गयो।
तिम्रा अनुमान ध्रुबतारा सरि भए
तिम्रा अनुसार हुत्तिहारा मरि गए
तर यहाँ त उ पनि खसी रहेछ
जो धुँवाका नाममा केबल धुप जलाउथ्यो
उनि पनि मरि रहेछिन
जस्को मनमा दरिद्रता देख्दा दु: ख पलाउँथ्यो।
आँट गरि वहाँ अस्ति झुन्डिनु भएछ
मैले ठाने अहो! एक्कासि बडा साहसी हुनु भएछ
तर तिमी त चिता बन्दै गरेको चिर्पट छेउ
भन्दो भएउ,
'लाछी साला!
जवान छोरो टुहुरो बनाई
जिवन अमृत मरुमा खनाई लटकी गएछ।'


म सुन्छु यहाँबाट दृश्यहरु
म देख्छु यहाँबाट क्रन्दनहरु
तर झर्छु जसै बोली हराउँछन
भाषै बुज्दिन तिम्रा, सिकेका शब्द बोल्नै डराउँछन
बचाउँ त भन्छु तर जान्दिन खै म के गरुँ?
बिवस हुँ कि अज्ञानि हुँ? जान्दिन खै म के गरुँ?

गजब त यो छ कि,
तिमी यो ढाँचामा अचम्मि रहेकै छैनौ
जीवनका साँचाहरु सुम्पी रहेकै छैनौ
मानवता बिलाउछ होला यसरी त?
सजिवताले नै जहर घोलाउँछ होला यसरि त?
चिन्दिनको हो तर सधैं भित्र कराउँछ
'कलिमा नि कलिला कलि खिल्छन अझै।
मन नमारे सच्चा प्रित मिल्छन अझै'
लठ्ठीदाँ बुझ्छु, होसमा मन बिचित्र डराउँछ

तिमी त ज्ञानि छौ जान्न पर्ने हो
नजानेनी आस्तिक छौ मान्न पर्ने हो।
तर तिमी मानी रहेकै छैनौ।
मान्देउ न सरकार तिम्रो के जान्छ?
भले मानेमै तिम्रो जीवन जान्छ
मान्देउ न यार तिम्रो के जान्छ?

गुरु तिमी वाह! वाह!
ज्ञानि तिमी
तिम्रा वचन अहो! अहो!
तिम्रा वाणी
भला बस्त्र मुन्तिर तिम्रा छिप्पट कल्चौंडा
तिम्रै मुखारबिन्दले फलाक्छ्न फेरि
मर्यादाका भाषण लम्बा चौडा
अनि देश नि तिम्रै कानुन नि तिम्रै
जिन्दगी भन्दा यहाँ तिम्रा चलन छन गाह्रा
न बाँच्न सक्छ्न यहाँ आत्माहरु रहरले
न बुझी जान्छन सृष्टिको चलनको पारा।
खसि जानेका कुरा त के कहनु यहाँ
बन त्याग्ने सिद्दार्थलाई त तिमीले
भन्दिन्छौ हुत्तिहारा।

तिमी गिता कहन्नौ,
कृष्ण कहन्नौ,
कहन्छौ त दन्त्यकथा छाडा,
तिमीले दुनियाँ हाँकेको देख्दा
लाग्छ गोहि भएको भ्रममा
उद्दण्ड छ चेपागाँडा।

म त नाष्तिक नतमस्तक छु हाजिर
तिमी नै भिउसेन तिम्रै छाती चौंडा
तिमी नै हनुमान तिम्रै पुच्छर हतियार
तिम्रै पुच्छर लौरा
म त गुरु सुट्टा सल्काउँछु।
लट्ठ आँखाले, भला वष्त्र मुनि
तिमीलाई नाङ्गै देख्छु,
दया लाग्छ।
चुक्क चुकचुकाउँछु।
म त झल्लु गँजडी लतको रोगी
तिमी सन्त गुरु म त ढोंगि
तिमी सन्त गुरु म त ढोंगि।

-उज्ज्वल राज घिमिरे

COMMENTS OF THE POEM
READ THIS POEM IN OTHER LANGUAGES
Close
Error Success