होस! अब म उठ्छु। Poem by Ujjwal Raj Ghimire

होस! अब म उठ्छु।

होस! अब म उठ्छु।
कतिन्जेल म 'भैदिए हुने',
'भैदिए हुने' भनेर बसौँ।
मैले भैदिए हुने भन्दैमा
भै दिने भए....
त्यो बाढी त्यसरी,
कहिल्यै गाउँ पस्ने थिएन।
सिमा पारी
मेरि चेलिको पछ्यौरी
त्यसरी खस्ने थिएन।
भर्खरै रहरले जन्माएको
कलिलो छोरो हुर्काउन नपाउँदै।
भारी गोडा गरि सानेको बाउ
त्यसरी खाडीमा फस्ने थिएन।

आजकाल म भित्रबाट
सिनोको गन्ध आउँछ।
अरुलाई छु: मत्लब?
तर मलाई भने डुङ्डुङ्ती गनाउँछ।
धोती र टोपिमा बाँडिएको छु म
हो! मलाई
'जननी जन्म भुमिश्च: स्वर्ग दपि: गरियसी।'
ले तर्साउँछ।

'मेरो देश' मैले लेखेको पहिलो कविता ।
हुर्किँए अब म।
अहिले म स्तन र नितम्बका गितमा,
ताली कमाउँछु।
सपनाको आकाशमा एक्लिएको म;
बादलपारिको देश खोज्दै।
ती नै बादल जोगाउन ठुट्टा सल्काउँछु।
सपना सजाउन, खुट्टा समाउँछु।
चट्ट परि लम्कन्छ जवान पट्ठो तिम्रा अगाडी
तर म आफैँ भने जोम्बी भै सकेँ
आफ्नै नाकलाई म गन्हाउँछु।

तर जसै म, सुत्छ नि?
कोहि जुरुक्क उठ्छ,
च्याप्प कलम समाउँछ।
अनि रुन्छ्न मेरा मसि त्यही पलामा।
'हिँजडो म भएँ,
हिँजडो तँ भईस,
हिँजडै भो सारा जगत।
भावै गएछ,
बाँकी रहेछ,
शब्दको रमिता फगत।'

होस! अब म उठ्छु।
कतिन्जेल फाटेको दुधलाई हेरि
गोठलाई सरापौँ?
सराप्ने सति बितेको पनि
शताब्दी बितिसक्यो।
बुद्धका हाड खाएका
ब्याक्टेरियाहरु नि फेरि जन्मेर
बुद्ध भै सके होला।
म अझै कति,
'बुद्ध वाज बोर्न इन नेपाल'
फलाकौँ?

सगरमाथाको अगाडी,
म बाम्पुड्के भै सकें।
म लखन चिन्दिन।
भैरव चिन्दिन।
तर मलाई मन्डेला थाहा छ।
चेतन भगत थाहा छ।
कठै मति! कठै मति! !
बुद्धि हो कि बागमती! ! !

तर होस! अब म उठ्छु।
जो नि त पहिला बच्चै हुन्छ।
अक्कलको थोरै कच्चै हुन्छ।
भै दिएनन् अरु जे म त्यै भैदिउँला।
गर्दिएनन् अरुले जे म त्यै गरिदिँउला।
पुगिदिएनन् अरु जहाँ म त्यैँ पुगिदिँउला।
होस! अब म उठ्छु।
होस! अब म उठ्छु।

29/12/2017(कोटेश्वर)

READ THIS POEM IN OTHER LANGUAGES
Close
Error Success