यी यादहरु पनि छरिएका हुन्छन् कहाँ कहाँ...
ठ्याक्कै ती छरिएका बादल जस्तै!
मनको आकाशै ढाकेर...
आँखाभरि आँसु लिएर
खिचिएका ती तस्विरहरुमा...
अनि
उनका क्षणिक रिस,
आफ्नै रुन्चे घुर्काइ र
घण्टौ चलिरहने प्रेमिल बातहरुमा
ती यादहरु छरिएका हुन्छन् कहाँ कहाँ...
मनको आकाशै ढाकेर...
बिहान दौडिरहदा
अचानक उनले भेटेछन्
पहिलोपटक हामीले भेटेको यादलाई
ती डाँडा, उकाली र ओरालीहरुमा
ती बिहानीहरुमा
ती रुख र पातहरुमा
त्यो ठाउँमा...
यादहरु पनि छरिएका हुन्छन् कहाँ कहाँ...
यादहरुलाई समेटेर पोल्टामा नराखि
छरिन दिनु
मायाको आयातन फैलिन दिनु,
मनको आकाशै ढाकेर भरिन दिनु...
यादभित्रबाट मायाका धागोहरु उधिनेर
बेला बेला
नयाँ स्वेटर बुन्नु
अनि चिसो मनलाई न्यानो बनाउनु...
कहिलेकाहीँ लाग्छ
यादहरु हिरा हुन् मनको खानीका
बेला बेला भेटिएर सम्बन्धलाई अनमोल बनाइदिन्छन्...
कहिलेकाहीँ लाग्छ
यादहरुमा छरिनु पनि बिग ब्याङको नानो रुप हो,
एउटा बिन्दु,
एउटा व्यक्ति,
एउटा ठाउँबाट सुरु भएर
फैलिएर
यी यादहरु छरिएका हुन्छन् कहाँ कहाँ...
💛❤️
This poem has not been translated into any other language yet.
I would like to translate this poem